जनकपुर जेठ १२ । दोहोरो नागरिकता छानविनका लागि गिरफ्तार परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या आएको भन्दै उनी आज शनिबार अस्पताल भर्ना भएका हुन् । गत मंगलबार काठमाडौंमा पक्राउ गरी जनकपुर पुर्याइनुभएका सिरोहिया दुई दिनदेखि अस्वस्थ भएका थिए । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना हुनुपरेको हो । सिरोहियाका वकिल रमन कर्णले उनको स्वास्थ्य अवस्थाबारे प्रहरीलाई शुक्रबार साँझ जानकारी गराएका थिए । प्रादेशिक अस्पतालमा सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको छ ।