काठमाडौं साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
आज बिहान ११:११ बजे भएको सौर्यको जहाज दुर्घटना हुदा १८ जनाले ज्यान गुमाउन परेको हो ।
१८ जनाले ज्यान गुमाईरहदा पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (रि–चेक)का लागि पोखरा जाने क्रममा थियो । अस्पतालका चिकित्सक डा. विशद दाहालले उनको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उनको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिए । उनले भने, “उहाँको शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार कक्षमा उपचार भइरहेको छ । थप उपचार पछि मात्र उहाँ कति गम्भीर हुनुहुन्छ भन्न सकिन्छ ।
जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै तल भुईँमा बजारिएको थियो ।
यश बिषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार एक बिज्ञप्ती जारी गर्दै १८ जनाको शव निकाली सकेको जनाएको छ ।