काठमाडौं, २० कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडा अध्यक्ष पदका उम्मेदवार तथा सम्बन्धित पार्टी कमिटीका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
‘हामीले सरकारको नेतृत्व गर्दा जसरी सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरेका छौं, यो क्षणिक कार्यक्रम मात्र नभएर आगामी दिनमा अघि बढ्ने हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोणमा आधारित कार्यक्रम हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले आसन्न उपनिर्वाचनको मुख्य एजेण्डा पनि सुशासन नै हो, उपनिर्वाचन यही अभियानको निरन्तरताको रुपमा अघि बढ्ने छ ।’


माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचारीमाथि थालेको कारवाहीका कारण जनताको बीचमा महत्वपूर्ण सन्देश गएको र अहिलेको सरकारले गरिरहेको गतिबिधिले त्यसलाई थप पुष्टि गरेकाले आसन्न उपनिर्वाचन निश्चित ठाउँमा मात्रै हुने भए पनि जनताले भ्रष्टाचारी या भ्रष्टाचारविरोधी कसलाई छनौट गर्ने भन्ने परीक्षणको समय पनि हुने उहाँले बताउनुभयो ।
माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई अघि सारेको छ । त्यस्तै माओवादी केन्द्रले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा ईञ्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउनेसमेत सर्वसम्मत निर्णय गरेको छ ।
कीर्तिपुर नगर समितिले तिनै जना उम्मेदवार सर्वसम्मतरुपमा चयन गरेको जानकारी गराएपछि खुशी व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सर्वसम्मत उम्मेदवार छनौटले जीतको राम्रो सुरुवात गरिसकेको बताउनुभयो । उहाँले विगतका अनुभव हेर्दा चुनावमा हार्नुमा आन्तरिक एकता नहुनु समस्याको रुपमा रहेको उल्लेख गर्दै उहाँले यसपटक आन्तरिकरुपमा पार्टी एक भएर उम्मेदवार छनौट गर्नु, सबै नेता कार्यकर्ता चुनावमा खटिन तयार हुनु र राष्ट्रियरुपमा पार्टीको पक्षमा माहोल बन्दै गएकाले यसपटक कीर्तिपुरसहित धेरै नयाँ ठाउँमा उपचुनाव जितिने आधार बनेको बताउनुभयो ।
सो क्रममा नगर प्रमुखका उम्मेदवार महर्जनले जित्ने विश्वासका साथ अघि सरेको उल्लेख गर्दै आफू निवृत्त प्राध्यापक भएकाले जितेमा सबै तलब भत्ता सामाजिक काममा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटमा माओवादी केन्द्रका नेताहरु अग्नि सापकोटा, सूर्य सुवेदी ‘पथिक’, कृष्णध्वज खड्का, सरल सहयात्री, दिलिप महर्जनलगायतले उम्मेदवार छनौट र चुनावी तयारीबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभएको थियो ।
यसअघि दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका उम्मेदवार निमलेखी शेर्पा(डोल्मा)लाई पनि अध्यक्ष प्रचण्डले आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिनुभएको थियो । सो क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिशाल खड्कालगायतले गौरीशंकर गाउँपालिकामा भएको चुनावी तयारीबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय